नमोबुद्ध नगरपालिकामा २ हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण
बनेपा १९ असोज ।
घरदैलो अभियानमार्फत नमोबुद्ध नगरपालिकामा २ हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ ।
कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । नमोबुद्धले सेवा फाउण्डेशन र बनेपास्थित रेयुकार्य मासुनागा आँखा अस्पतालको सहयोगमा एक महिने अभियान सञ्चालन गरिएको हो ।
आँखा जाँचपश्चात १११ बालबालिकालाई चस्मा वितरण गर्नुका साथै ३६५ जनालाई निःशुल्क औषधिसमेत उपलब्ध गराईएको टिम लिडर प्रफुलराज श्रेष्ठले जानकारी दिनुभयो ।
"परीक्षण गरिएकामध्ये ६४ जनामा मोतियाविन्दु देखिएको छ, १४६ जनालाई थप परीक्षण र उपचारका लागि रेफर गरिएको छ", उहाँले भन्नुभयो । २ सय ४२ आँखाका बिरामीको प्राथमिक उपचार केन्द्र भकुण्डेमा उपचार गरिएको थियो ।
नगरका केही वडामा वृद्धवृद्धाको समेत आँखा परीक्षण गरिएको थियो । नगरले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्क कान सुन्ने मेशिन उपलब्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बीमा गराउने, विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने लगायत कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

