सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता

सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता
SASA INFOSYS

 बनेपा २ असार ।

सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको बताउने गरेका छन् ।

प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । ‘बिभिन्न ठाउँका पुल र सडक बगेपछि अहिले यातायात सम्पर्क विच्छेद छ,’ डिएसपी सापकोटाले भने । खानेपानी र विद्युत सेवा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाका अनुसार तिम्बु, चनौटे र मेलम्ची बजारमा व्यापक क्षति पुगेको छ । दुईवटा पक्की पुल र ट्राउट माछा फार्म पनि बाढीले बगाएको छ ।

उहाँका अनुसार अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको उनले बताए । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको उहाँले जानकारी दिनुभयो।

मेलम्ची खानेपानीको मुहान अम्बाथानतिरबाट बाढी उर्लिएर आएको र नदी किनारका बस्तीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । मेलम्ची आयोजनामा कार्यरत चिनियाँहरुको क्याम्प र आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको क्याम्पमा पनि क्षति पुगेको स्थानीयको भनाइ छ । हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु र किउलमा रहेको ट्राउट माछा फार्म बाढीले बगाएको छ ।

राति ठूलो बाढी र पहिरो झर्न थालेपछि किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ, मेलम्चीलगायतका स्थानका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बसेका छन् ।